निजामती विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी

काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन्।

मन्त्रालयको नेतृत्व लिएपछि भएका मुख्य उपलब्धिबारे जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँग घनीभूत संवाद गरिरहेको स्पष्ट पारे।

उनले निजामती विधेयकबारे राजनीतिक दलहरुसँग छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाई छ ।सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, “तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।”

स्थानीय तह विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उनले यसलाई बलियो बनाउन शासकीय क्षमता, पूर्वाधार निर्माण र संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन दस्तावेज तयार भएको जानकारी दिए। “राजनीतिक आग्रह र पूर्वाग्रहका कारण कतिपय स्थानीय तहमा पठाइएका कर्मचारी दलबलसहित मात्र हाजिर गर्न जानु परेका घटना छन् ।” उनले भने।

उनले जनप्रतिनिधि र कर्मचारीबीच बुझाइ समानता तथा कार्यगत एकता नभएकोा र कतिपय स्थानीय तहमा कार्यकारी खटाउन नसकिएकोले  अझै पनि दुई सय ३० भन्दा बढी स्थानीय तहमा निमित्त खटाउनु परेको बताए ।मन्त्री जोशीले कानुन र आर्थिक अनुशासन विपरीतका घटना बढेकाले विधि प्रक्रिया र ऐनको पालना गरी कार्य जिम्मेवारी सम्हाल्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए।