तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै,आजैबाट चतुर्मास ब्रत आरम्भ,महत्व र विशेषता के छ ?

सीता पौडेल (अर्चना)

काठमाडौं ।आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी ।यस एकादशीलाई तुलसी रोप्ने एकादशी पनि भन्ने चलन छ ।

यस दिन नेपाल,भारत लगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घर–घरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र विधिपूर्वक व्रत बसि पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ।यसरी आ–आफ्ना घर–आँगनमा तुलसी रोपेर हरियनी एकादशी मनाउने धार्मिक प्रचलन अनुसार आज बुधबार धुमधामका साथ हरिशयनी एकादशी मनाउन लागिएको हो । 

आज भन्दा करिब एक महिना अगाडि ज्येष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन तुलसीको विउ छरेर त्यसबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।यसरी तयार पारेर आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको,भगवान् विष्णुको प्रतिकको रुपमा चार महिनासम्म पूजा गर्ने चलन छ। यसरी पूजा गर्ने यो अवधिलाई चतुर्मास भनिन्छ।

 

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने,कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)मा जाग्ने र तुलसीको विवाह गरिदिने चलन छ।हरिबोधनी एकादशीका दिन दामोदर भगवानको पूजा गरि तुलसीलाई उहाँसँगै  विवाह गरिदिएर यो व्रत समाप्त गर्ने प्रचलन छ ।

भगवान् विष्णु क्षीरसागरमा सुत्ने अवधि भएको हुनाले यो एकादशीलाई ‘देवशयनी एकादशी’ पनि भन्ने गरिन्छ।

चतुर्मासका यी एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण– भक्तपुरका चाँगुनारायण,नागार्जूनका इचंगुनारायण,फर्पिङका शेष नारायण र गोदावरीका विशंखुनारायण र बूढानीलकण्ठ मन्दिरमा विष्णु भगवानका भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।

हरेक वर्षमा पर्ने २४ वटा एकादशी मध्येमा हरिशयनी एकादशीको विशेष महत्त्व रहिआएको छ ।

पौराणिक कथा अनुसार अति दानी राजाका रुममा चिनिने बलिराजासँग भगवान् वामनले तीन पाउ जमिन माग्दा पहिलो पाउले अतल,वितल,सुतल,तलातल,महातल,रसातल सात लोक लिएको,अर्को पाउले भू, भवः, स्वहः जन, मह, तप, सत्य लिएको तर तेस्रो पाउ कहाँ राख्ने भन्ने अलमल भएपछि बलिले शिरमा राख्न दिनुभएको थियो। 

त्यसपछि बलि पाताल पुगेपछि विष्णुले तिम्रो केही इच्छा छ भने माग भनेपछि बलिले आफ्नो द्वारपालका रूपमा विष्णुलाई सधैँ हेर्ने इच्छ जाहेर गर्नु भएको थियो।सोही वाचाअनुसार बलिको द्वारपाल भएर विष्णु पाताल लोकमा यो चार महिना बस्न थाल्नुभएको हो।  

यस्तै श्रीस्वास्थानी व्रतकथामा पनि वृन्दा नाम गरेकी जालन्धरकी अत्यधिक पतिव्रता पत्नीको सतितत्व नलुटेसम्म जालन्धरलाई मार्न सकिँदैन भन्ने भगवानहरुलाई लागेर भगवान् विष्णुले जालन्धरको रूप धारण गरि उनको सतित्व लुटेपछि जालन्धरको मृत्यु भएको कुरा उल्लेख भएको पाइन्छ ।

भगवान् विष्णुको यस प्रकारको छल थाहा पाएपछि वृन्दाले विष्णुलाई घाँस (कुश) हुनुपरोस्, झार (तुलसी) हुनुपरोस्, रुख (पीपल) हुनुपरोस् र ढुङ्गा (शिलाजित) हुनुपरोस् भनेर श्राप दिएकी थिइन् ।त्यही श्राप अनुसार भगवान विष्णु तुलसीका रूपमा पृथ्वीमा आउनुभएको कुरा श्रीस्वास्थानी व्रतकथामा वर्णन गरिएको छ।त्यसैले तुलसीलाई विष्णुकै रूप मानिएको हो।  

तुलसीलाई आयुर्वेदिक औषधिका रूपमा समेत उपयोग गरिने र यसले अत्यधिक अक्सिजन उत्पन्न गराएर घर वरपरको हावा स्वच्छ तुल्याउन मद्दत पु¥याउने विश्वास गरिन्छ ।तसर्थ धार्मिक दृष्टिले मात्र नभएर आध्यात्मिक र आयुवेर्दिक दृष्टिकोणबाट पनि तुलसीको निकै महत्त्व छ।

चर्तुमास अवधिभर तुलसीको पूजा गर्ने,भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा पनि छ।यस समयमा सूर्य दक्षिणायान रहने हुँदा सामान्यतया खास प्रकारका मांगलिक कार्य गरिदैन भन्ने चलन छ ।

यस एकादशीमा पूजा अर्चना गरि ब्रत बस्नाले जीवनमा जानी नजानी गरेका सम्पूर्ण पापको मोचन हुनुका साथै मनोकामना पुरा हुने जनविह्वास पनि रहिआएको छ।