पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

काठमाडौं।आफूलाई नेत्रविप्लव चन्द विप्लवका समुहको कार्यकर्ता भनेर चिनाउँदै पत्रकार किशोर श्रेष्ठलाई धम्काएका कपिल सि (सिजापति)लाई प्रहरीले पक्राउ गरेको छ ।

जनआस्था साप्ताहिकका संस्थापक तथा प्रधान सम्पादक श्रेष्ठलाई भद्दा गाली गलौजसहित ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बिजुलीबजारबाट पक्राउ गरेको हो।

सो पत्रिकाको अनलाईन भर्जनमा प्रसारण गरिएको एक अडियोका अनुसार प्रधान सम्पादक श्रेष्ठ र एक युवकबीच संवाद भएको सुन्न सकिन्छ ।अडियोमा ती युवकले आफूलाई विप्लवनिकट विद्यार्थी संगठनको बुद्धनगरस्थित कार्यालयबाट बोलेको बताएका छन् ।

युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन भनेका छन् ।श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेका छन् ।

उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ।हामीसँग ३८÷३९ वटा मुद्दाहरु छँदैछन् ।एउटा मुद्दा नथपियोस् भनेर हामी सचेत छौं।बुद्धनगर कार्यालयमा हामीले ती महिलालाई पनि बोलाएका छौं ।तपाईंको टाइम कतिबेला हुन्छ भन्नुपर्यो।’

श्रेष्ठले भोलि पत्रिका निकाल्नुपर्ने भएकाले आज भेट्न सम्भव नरहेको बताउँछन् ।बरु उनले जनआस्थामा नै आउन आग्रह गर्छन् ।युवकले जवाफ दिन्छन्, ‘तपाईं अपराधीको उसमा हामी किन आउने ?’

 ‘अपराधी’ भनेपछि श्रेष्ठ पनि जंगिन्छन् । त्यसपछि युवकले मुख छोड्न थाल्छन् ।उनी भन्छन्,‘ए किशोर श्रेष्ठ, तँ ठूलो कुरा नगर । तँ मुलालाई हामीले राम्रोसँग चिनेका छौं ।तेरो कार्यालयमा हामी आउँछौं ।’

श्रेष्ठले पनि युवकलाई  झपार्छन् ।उनी भन्छन्,‘तिमीले भोलि पश्चाताप गर्नु नपरोस् बाबु, यति मैले भनेको छु।’

थप धम्की दिंदै ति युवकले फेरि भन्छन्, ‘तिम्रो टाउकोमा बम पड्काइदिन सक्छौं’। ‘अहिले मेरो अगाडि भएको भए दुई वटा दाँत झारिसक्थेँ, फोनबाट हात हाल्न नमिल्ने भएकाले जोगिएको छौ ।’

दोस्रोपटक पनि ती युवकले फोन गरेका छन् । यसपालि उनले  अखिल समाजवादीको केन्द्रीय सचिव कपिल सी भनेर चिनाउँछन् । उनले आफू जनआस्थामा विगतमा काम गरेकी एक महिला कर्मचारीको दाइ भएको बताउँछन् । अब अफिसमै आएर कुरा गर्ने भन्दै फोन राख्छन् ।

श्रेष्ठका अनुसार दुई वर्ष अगाडि अछामकी एक महिला जनआस्थाको अनलाइनमा काम गर्थिन् । उनले ५–६ महिना काम गरेर सहजरुपमा छोडेकी थिइन्।ती विवाहित महिलाको चरित्रहत्या गरेको आरोप श्रेष्ठमाथि लगाइएको हो । 

जनआस्था अनलाइनमा  प्रकाशित समाचारमा लेखिएको छ, ‘जनआस्थाकी ती पूर्वकर्मचारीमाथि कसले चरत्रहत्या गरेको हो प्रमाण उपलब्ध गराइयोस्, हामी कानूनी कठघरामा उभिन तयार छौं।अन्यथा निहित स्वार्थसिद्ध नभएपछि कपोलकल्पित र निराधार आरोप लगाएर पत्रकार र समग्र प्रेसलाई हतोत्साही पार्ने दुष्प्रयास नगर्न चेतावनी दिन चाहन्छौं ।’

ती महिलाका दाइले पहिलोचोटि मंगलबार बिहान १० बजे फोन गरेर धम्की दिएका हुन्।दिउँसो तीनै महिलाले दुई युवाहरु लिएर सानेपा धोविघाटस्थित जनआस्थाको कार्यालयमा लिएर आइन्।एक युवकले कम्मरमा पेस्तोलसमेत बोकेको श्रेष्ठले बताए।

बुधबार पत्रिका निकाल्नुपर्ने भएकाले कामको चटारोमा थिए श्रेष्ठ।एकाक्सी हुलहुज्जत भएपछि तनावपूर्ण स्थिति बनेको थियो।उनीहरुले जनआस्थाको कार्यालय बमले उडाइदिने धम्की दिए।त्यसपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए।पक्राउको विरोधमा विप्लवको भ्रातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन ९समाजवादी० का अध्यक्ष नरेन्द्र सीले विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनआस्था साप्ताहिकको सम्पादक भनेर भनिने खुफिया पत्रकार किशोर श्रेष्ठले उनको पत्रिकाको अनलाइनमा काम गर्ने महिला कर्मचारीमाथि गरेको चरित्रहत्या,अनर्गल प्रचार र दिएको मानसिक पीडाविरुद्ध छलफलका लागि बोलाउँदा निज खुफिया पत्रकार किशोर श्रेष्ठले प्रहरी प्रशासन र गृह प्रशासनको दुरुपयोग गरी सचिव क। कपिल सीलाई गिरफ्तार गराएको छ ।’