
धादिङ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख भाँचिएर माइक्रोबसमाथि खस्दा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
सुख्खा पहिरो खसेर गुडिरहेको माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको बताइएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। गम्भीर घाइते एक वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ।
माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।
पहिरोसँगै रुख पनि बगेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिने सवारी अलपत्र परेका छन्।
