
२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५० औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसमा विकास साझेदारहरुको सहयोग अपेक्षित भएको बताए ।
