पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने तयारीमा छौँ :‘प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् ।

वि.सं. २०५१ सालमा शहीद भएका तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ ।

केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ ।’अध्यक्ष ‘प्रचण्ड’ले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै उनले जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताए ।

उनले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको पनि बताए । ‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने ।कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरू सहभागी थिए ।