
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन, अराजक व्यवहार प्रदर्शन गर्नेलाई कारबाही गर्न तथा महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको क्रियाशीलतामा जोड दिए । यस्तै, बिग्रेभत्केका सडक पूर्वाधारका कारण दैनिकजसो सवारी दुघर्टनामा बढोत्तरी भई जनधनको क्षति भएकाले आवश्यक सतर्कता अपनाउन कानुन कार्यान्वयन गराउनुपर्ने बताए ।
सांसद विना लामाले धादिङ र रसुवाको सीमाक्षेत्रमा अवैध कारोबार मौलाएको भन्ने सूचना आएकाले शान्ति सुरक्षाको प्रबन्ध गर्न र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले लामो समयदेखि राजदूत नियुक्ति हुन नसक्दा मुलुकको प्रतिष्ठामा आँच आएको भन्दै तत्काल नियुक्त गर्नुपर्ने बताए ।
