दशैँ अघि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउँछु : खानेपानीमन्त्री यादव

२२ असोज,काठमाडौँ ।खानेपानीमन्त्री प्रदीप यादवले दशैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दशैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताए।

मन्त्री यादवले भने,“काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दशैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ”

साथै काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीवासीका घरमै पुगेर अनुरोधसमेत गर्ने उनले बताएका छन्।

उनले भनेका छन— “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ। मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु।”

मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गर्ने प्रयास भएको र हुने पनि बताए।

 उनले काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए।