
१३ कार्तिक,स्याङ्जा ।तीन वर्षअघि सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि कालीगण्डकी –तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउने बाटो खुलेको छ । आयोजना विरुद्ध २०७८ असारमा सर्वोच्चमा दायर भएको मुद्दा खारेज भएसँगै बाटो खुलेको हो ।
आइतबार सर्वोच्चका न्यायाधीश डा.कुमार चुडाल र विनोद शर्माको इजलासले आयोजनाविरुद्ध परेको रिट खारेज गरेको हो ।कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयविरुद्ध तीन अधिवक्ताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा,अधिवक्ताद्वय तुलसीराम पोखरेल, अदिता कार्की र एपेक्स कन्ट्रक्सन प्रालिले यो आयोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।आयोजना रोक्न तथा यो नदीबाट गिट्टीढुंगा, बालुवा निकाल्न रोक लगाउन माग गरेको निवेदनमा केही निर्देशनसहितको आदेश आए पनि पूर्ण विवरण आउन भने बाँकी नै छ।
नेपालको सभ्यता र संस्कृतिसँग जोडिएको गण्डकी नदीको अस्तित्व नै समाप्त पार्नेगरी कालीगण्डकी पानी डाइभर्सन गर्ने सरकारको निर्णय गलत भएको भन्दै तत् ठाउँका स्थानीयहरुले पनि विरोध जनाउँदै आएका छन् ।
२०७८ सालमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय बुटवलमा स्थापना गरेर उद्घाटन गरेका थिए ।आयोजनाले स्याङ्जा,पाल्पा र तनहुँसम्म १० वटा स्थानीय तहको भौगोलिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञहरु बताउँछन् ।
प्रस्तावित आयोजनाको योजनाअनुसार पाल्पाको रम्भा गाउँपालिकाको पिपलडाँडा क्षेत्रबाट २७ किलोमिटर सुरुङ खनेर पाल्पाको दोभानमा पानी झारिनेछ।दोभानबाट बुटवलको वेलवाससम्म फेरि अर्को ७ किमि सुरुङ बनाएर कालीगण्डकीको पानी तिनाउमा खसाल्नेछ।यसले रुपन्देहीका सबै र कपिलवस्तुको केही क्षेत्रमा सिंचाइको साथै अन्य आयोजना सञ्चालन गर्ने योजना अघि सारेको छ ।
१० वर्षमा पूरा गर्ने १३८ अर्बको लगानी हुनसक्ने आंकलन गरिएको यस आयोजनामा सिंचाइ सुविधा र विद्युत निकाल्ने लक्ष्य राखिएको छ ।
१०७ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ हुने र पाल्पाको दोभानमा ५४ मेगावाट र रुपन्देहीको बुटवलमा १२६ मेगावाट क्षमताका पावर हाउस निर्माण गरेर वर्षमा १ हजार मेगावाट विद्युत निकाल्ने योजना यसमा समेटिएको छ।
रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा यहाँको सबैभन्दा ठूलो जलस्रोत मानिने तिनाउ नदीमा पानीको सतह घट्दै गएपछि यसको सभ्यता, सिंचाइ र तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि यो आयोजनाको परिकल्पना गरेर काम अघि बढाएको बताइएको छ ।
यसरी आउनेछ तिनाउमा पानी :-
गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुइ वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिने छ ।
सिँचाइ विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तर जलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाइमा प्रयोग गरिने गरी परियोजनाको डिपिआर बन्दैछ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ ।
यस्तै २७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेगावाट विद्युत उत्पादन हुनेछ ।दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेगावाट विद्युत उत्पादन गरिनेछ । बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तुसम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ ।
यसबाट रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्नेछ । करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पु¥याउन सकिने विश्वास प्राविधिकहरूको छ ।
