स्याटेलाइट इन्टरनेट सेवा नेपालमा सुरु गर्न स्टारलिंक उत्सुक,प्रधानमन्त्रीद्धारा डेमो अवलोकन

२३ कार्तिक,काठमाडौं ।अमेरिकाका धनाढय व्यक्ति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ।

नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै उसले सहज रुपमा सेवा दिने वातावरण बनाउन माग गरेको हो।

स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्रोतका अनुसार उनीहरुले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुति दिएका हुन् ।

स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधि खाले प्रत्याभूति दिलाउने प्रयास गरेको थियो । 

स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।