मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री

२७, जेठ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) द्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

सोमबार जेनेभा, स्विट्जरल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सुरक्षित, मर्यादित र नैतिक श्रमको सर्तसहित निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारको सहकार्यमा स्वदेश तथा वैदेशिक रोजगारीका लागि श्रमशक्ति तयार गरेको पनि जानकारी दिए ।

नेपालले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यलाई निरन्तर सुदृढ गर्न प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “हामी न्यायोचित र नैतिक आपूर्ति शृङ्खला, सिप मान्यता र श्रम गतिशील प्रशासनका लागि सक्रिय छौँ । अन्तर्राष्ट्रिय सहकार्यलाई हामी विकल्प नभई, साझा समृद्धि, समानता र शान्तितर्फको हाम्रो उत्तरदायित्वका रूपमा हेर्छौं ।”

नेपालले समावेशी आर्थिक वृद्धि, गरिबी न्यूनीकरण र सामाजिक सुरक्षामा पहुँच विस्तारमा पछिल्ला केही वर्षदेखि उल्लेखनीय प्रगति गरेको उनले दाबी गरेका छन् ।प्राकृतिक प्रकोप, कोभिड महामारीको दीर्घकालीन प्रभाव, संरचनागत श्रम बजारको समस्या र जलवायु परिवर्तनजन्य जोखिमबिच पनि यी उपलब्धि हासिल भएको उनले जानकारी गराए ।