दूध उत्पादक किसान आन्दोलनमा,आज डीडीसी कार्यालयमा धर्ना दिने

१५ भदौ, काठमाडौं । दूध उत्पादक किसानहरु आन्दोलित भएका छन्।

दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा धर्ना दिँदैछन् ।

आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा.भेषराज अधिकारीले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् ।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको उनको भनाई छ ।

गत वर्षदेखिकै किसानहरूले भुक्तानी पाएका छैनन् । दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाई भएको दुखेसो पोख्दै आएका छन् ।

उनीहरुले  किसानप्रति सरकार उत्तरदायी नभएको आरोप लगाएका छन्।किसानहरूको पीडा,समस्या सम्बोधन र जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको आन्दोलित किसानहरुको भनाई छ।धर्ना कार्यक्रममा काभ्रे,नुवाकोट,धादिङलगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने बताईको छ।

उता सरकारले बजेट अभाव देखाउँदै अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका उखु किसानहरुले पनि राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन्।

उखु उत्पादक महासंघ,नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको पनि जनाएको छ।