तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

२६ असोज,काठमाडौं ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहार जिकिँदै गर्दा देशका विभिन्न स्थानका बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ।

यस पटक तिहार आगामी कात्तिक १ गतेदेखि सुरु हुँदैछ ।तर,तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् ।

राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड,असन,इन्द्रचोक,भोटाहिटी,लगनखेल,बानेश्वर,कोटेश्वर,थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको त्यहाँका व्यापारीहरुको भनाई छ।

अहिले माटोका पाला(दियो) झिलिमिली बत्ती,सप्तरङ्गी टीका,मखमली फूलका माला,लक्ष्मी पूजामा प्रयोग हुने सामग्री,भाइमसला, अमला, ढाका टोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी बताउँछन्।

व्यापारीहरु भन्छन् “अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ।तिहारका लागि सामग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो।”

यसैगरी तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन्।साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ।जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ ।

विशेष गरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको छ ।
भाइटीकाको दिनमा प्रयोग हुने भाइमसला प्याक,ढाका टोपी,टीका सेट,मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको उनीहरुको भनाई छ ।