आशा भोसलेको निधन

२९ चैत,काठमाडौं ।भारतीय संगीतकी महान् एवम् विश्वमै चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका हुन् ।उनको अन्त्येष्टि भने भोलि सोमबार गरिने परिवारले जनाएको छ ।उनकी दिदी स्वर्गीय लता मंगेशकर पनि निकै चर्चित संगीतकर्मी थिइन् ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । 

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।