एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

२९ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।

तर धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन भने सकेको छैन् ।

सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन ।

धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।

सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने,कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ ।

शुक्लाफाँटा नगरपालिकामा फोहरमैला रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।