मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

२८ साउन,काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ।

मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।यस्तै,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहीबार दिनभर कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

यस्तै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एकदुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।