नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

सीता पौडेल

३० साउन,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा भरतजंग पाण्डे निर्वाचित भएका छन् ।

शुक्रबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पाण्डेसहितको नयाँ नेतृत्व चयन भएको हो।

नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन (नाट्टा) को अध्यक्ष पदका लागि तीन जना उम्मेदवार मध्येमा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएको निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए । उनका अनुसार अध्यक्षमा निर्वाचित पाण्डेका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेकी थिइन्।

एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ। 

निवर्तमान अध्यक्ष थपलियाले नयाँ नेतृत्वले नेपालको यात्रा र पर्यटन उद्योगको निरन्तर वृद्धि, सुदृढीकरण र प्रवर्द्धनतर्फ काम गर्दै  एकता,व्यावसायिकता,वकालत र सहकार्यको विरासतलाई अगाडि बढाउने विश्वास मतदाता र शुभचिन्तकको रहेको बताए।

यसैगरि निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शर्माले २५१ मत ल्याएर जित हासिल गरेका छन्। उनले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरेका हुन्।

त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतका साथ विजयी भइन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गरी निर्वाचित भए भने सचिवमा १९५ मतका साथ रमेश पराजुली निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्ष पदमा डिकी शेर्पाले २०८ मत ल्याएर विजयी भइन्। सह–कोषाध्यक्ष पदमा १६६ मतका साथ जीवन कोइराला निर्वाचित भएका छन्।

८ सदस्यीय कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सबैभन्दा धेरै २११ मत प्राप्त गर्दै निर्वाचित भइन् ।

यसैगरि सदस्यहरुमा प्रकाश लोहनीले २१ मत,नवीन गुरुङले २०५ मत,दिनेश मैनालीले १८९ मत,सुमनलाल श्रेष्ठले १८८ मत,स्वस्तिका प्रधान १८४ मत,संकेत दाहालले १६५ मत र विभास पौडेलले १५८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सुशासन,पारदर्शिता र सदस्यहरूको बृहत्तर सहभागितामा जोड दिने बताएका छन्।

आफु निर्वाचित भएपछि उनले सम्पुर्ण मतदाता र शुभचिन्तक लगायत सबैप्रति आभार प्रकट गर्दै नाट्टालाई थप डिजिटलमैत्री बनाउनुका साथै  सेवाप्रवाहलाई आधुनिक एवम् चुस्त–दुरुस्त बनाउने,अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जोड दिने,पर्यटन व्यवसायमा रहेका नीतिगत अड्चनहरू फुकाउने लगायतका विषयमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नाट्टाको इतिहास,उच्च छवि, गरिमा र उपलब्धिहरूका विषयमा चिन्तन गर्न, नेपालको पर्यटन उद्योगले देशको अर्थतन्त्रसँगै दिगो विकासमा पु¥याएको योगदानको चर्चा गर्ने वातावरण बैठकले सिर्जना गर्नुका साथै अगामी सेवा परियोजनाहरुको रणनीतिक लक्ष्य तयार गर्ने एकता, व्यावसायिकता,सहकार्य र वकालत मार्फत यात्रा व्यापारलाई सुदृढ पार्ने प्रतिबद्धतालाई पुन:पुष्टि गर्न महत्त्वपूर्ण मञ्च तयार गरेको विश्वास  लिइएको छ।

साथै कार्यक्रममा पर्यटन संघ,संस्था,लामो समयदेखि उत्कृष्ट सेवा गरिरहेका सदस्यहरू,पर्यटन योगदानकर्ताहरू र पत्रकारहरूको मान्यता र प्रशंसा,साथै खगेन्द्र राज पाण्डे मेमोरियल ट्राभल एण्ड टुरिज्म अवार्ड प्रदान गरिएको नाट्टाले जनाएको छ ।

नयाँ नेतृत्वले नेपालको यात्रा र पर्यटन उद्योगको निरन्तर वृद्धि, सुदृढीकरण र प्रवर्द्धनतर्फ काम गर्दै एकता, व्यावसायिकता,वकालत र सहकार्यको विरासतलाई अगाडि बढाउने समेत विश्वास लिइएको छ।