
४ कात्तिक, काठमाडौं ।बडादशैं अर्थात विजया दशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । यसको उत्तम साइत १० बजेर २६ मिनेट रहेको छ ।
विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ।
दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ ।सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशको जल अभिषेक गरी इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । अनि दैलामाथि टीका लगाउने गरिन्छ ।
कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।
