काठमाडौं । लगानी सम्मेलनमा उद्योग विभागले ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ ।विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो ।
जसमा भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब,काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको विभागले उल्लेख गरेको छ ।

यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ। विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको समेत उद्घाटन गरेको छ।
सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली,२०७७ को पहिलो संशोधन गरेको थियो।

