राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने

काठमाडौं ।‘नारीको कला,नारीको शान’भन्ने मूल नाराका साथ राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानले बैशाख २७ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता गर्न लागेको हो।

यस प्रतियोगितालाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ।महिलाको अन्तरनिहित प्रतिभाको उजागर गर्नु र मौलिक बाजा मादलको संरक्षण र विकास गर्नु प्रतियोगिताको उद्देश्य रहेको बताइएको छ।

प्रतियोगिताका लागि २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।पहिलो हुनेलाई ५५ हजार, दोस्रोलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

नेपालमै पहिलो पटक हुन लागेको यस प्रतियोगिताका लागि अहिलेसम्म ४२ जनाले आवेदन दिइसकेको कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष टीका पुनले जानकारी दिएकी छन् ।