
काठमाडौं ।नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी बढेको छ।टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो नाफा गत आवको यसै अवधिको तुलनामा ३.३ प्रतिशत बढी हो ।गत आवको यस अवधिमा कम्पनीले ५ अर्ब ४१ करोड खुद नाफा कमाएको जनाएको छ ।कम्पनीको कुल आम्दानी भने घटेको बताइएको छ।
आम्दानी घट्दा पनि नाफा बढ्नुको एक कारण कर्मचारीको सेवासुविधा खर्च, कार्यालय सञ्चालन खर्च, वित्तीय खर्च लगायतमा कमी आउनु रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य बढेको देखिन्छ।१८ अर्ब चुक्ता पूँजीमध्ये ९१. ४९ प्रतिशत सरकारको सेयर स्वामित्व छ।८ .४८ प्रतिशत सेयर अर्थात् १ करोड ५२ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको छ भने बाँकी ०.०३ प्रतिशत नागरिक लगानी कोषको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा छ।आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८१२ रुपैया रहेको कम्पनीले जनाएको छ।
