काठमाडौं ।नक्कली विवाह गराइ चीन पु¥एर मानव बेचविखन गरेको आरोपमा एक महिला पक्राउ परेकि छन्।
नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले नेपाली महिलालाई नक्कली विवाह गराई चीन लगेर बेचविखन गरेको आरोपमा ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो ।
परिवर्तित नाम २६ बबरमहल (१८८) लाई चिनियाँ नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड पश्चात नेपाल आउन जान मिल्छ,भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा विवाह समेत गराईदिई बेचबिखन गरेको खुलेपछि उनी पक्राउ परेकी हुन्।
पीडितको जाहेरीको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले ठमेल एरियाबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
घले नुवाकोट किस्पाङ्ग गाउँपालिका वडा नं १ स्थायी ठेगाना भई हाल चीनको हेलिइङजियाङ प्रदेशको हार्विन सिटीमा बसोबास बस्दै आएकी थिइन् ।अनुसन्धानको क्रममा घलेले घरको आर्थिक अवस्था कमजोर भएकी ती महिलालाई ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिन्छ,केटा धनि छ,नेपाल आउन जान पनि मिल्छ भन्ने जस्ता विभिन्न प्रलोभनमा पारेको खुल्न आएको छ।
घलेले पीडितलाई ललाई फकाई गरेर २०७९ चैत १३ गते काठमाडौं जिल्ला अदालतमा लगेर चिनिया नागरीकसँग कोर्ट म्यारिज गरिदिएको खुलेको छ।
विवाह गरिसकेपछि मनमाया समेतले पीडितलाई २०८०बैशाख १ गते नेपालबाट चीनमा पुर्याई आफू नेपाल फर्किएकी खुलेको छ।
विवाह गरी चीनमा पुर्याइसकेपछि चिनियाँ नागरिकले २६ बबरमहल (१८८) लाई यौन शोषण गरी बिभिन्न व्यक्तिहरुसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको बताइएको छ ।
पीडितले आफन्तलाई सम्पर्क गरेर जानकारी गराएकी थिइन् । त्यसपछि चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा उनलाई २०८० असार १ गते नेपाल उद्दार गरी ल्याइएको थियो ।
ब्यूरोले यस घटनामा संलग्न चिनियाँ नागरिक तथा अन्य प्रतिवादीहरुको खोजतलाससँगै थप अनुसन्धान भई रहेको जनाएको छ ।
