सीता पौडेल(अर्चना)
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ।
इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।
विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ।
बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गर्दै बुद्धजयन्ती मनाउने गर्दछन्।यस अवसरमा बौद्ध धर्मावलम्बीले चैत्य,गुम्बा,विहारलगायतका स्थलमा लामा एवं बौद्ध धर्मगुरुबाट परम्परादेखि गर्दै आएको पूजा,आरधाना र विधिविधान गर्ने चलन छ। लुम्बिनी,स्वयम्भू,बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहिआएको छ।
वैशाख शुक्ल पूर्णिमाका दिन नै सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए।बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध,बुद्ध भगवान् आदि नामले पुकारिएको हो।दुःखलाई नाश गर्ने आठ मार्ग नै बुद्धले पाएको र बाँडेको ज्ञान हो ।बौद्ध दर्शनमा दुःख निवारण गर्ने ति ८ मार्गहरू उल्लेख गरिएका छन् ।
के के हुन् त बुद्धले देखाएको र बाँडेको आठ मार्ग !
सम्यक् सङ्कल्प,सम्यक् दृष्टि, सम्यक् वचन,सम्यक् कर्म,सम्यक् आजीविका,सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि नै बुद्धले देखाएका आठ मार्ग हुन्।
शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा चिनेने भगवान गौतम बुद्धलाई शान्ति अहिंसा,सत्यता र सरलताका लागि संसारले गुरुका रुपमा मान्दछन्।उनलाई आज संसारले पूर्णरुपमा संसारिक मोहबाट जागेका,यसले दिने पीडाको बोधबाट जागेका एक महान दार्शनिक,गुरु,पथ–प्रदर्शक र प्रवर्तकको रुपमा चिन्ने गर्दछ।
मानिसलाई सांसारिक मोह र यसले उत्पन गराउने पीडा वा तनावबाट मुक्त गराउन उनका अनेकौं कालजयी सन्देशहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।आठ मार्गका माध्यमबाट उनले सिकाएको शान्ति,अहिंसा,मैत्री र करुणाको शिक्षा नै आममानिस जगतको लागि सर्वाेतम पाठ हो।
विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो ।आज पनि नेपालमा सार्वजनिक बिदाको दिन हो। विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा समेत सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आइएको छ ।
विश्वका अति प्रसिद्ध अक्सफोर्ड,क्याम्ब्रिज,हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ ।यसैगरी त्रिभुवन विश्वविद्यालय,नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन्।
बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिएका छन् ।जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन्।
नेपालमा यहाँ भएका बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथ निर्माण गर्ने प्रकृया थालिएको छ ।यसले छिट्टै पूर्णता पाउने आशा लिइएको छ ।
बौद्ध दर्शनमा ४ आर्य सत्यहरू समेत उल्लेख गरिएका छन् ।यी ४ आर्य सत्यहरु नै ज्ञानका प्रमुख सिद्धान्तहरु हुन् ।
बौद्ध दर्शनमा ४ आर्य सत्यहरू के के हुन त ?
१) संसारमा दुःख छ २) दुःखका कारणहरू छन् ।३) दुःख नाश गर्न सकिन्छ र
४) दुःख निवारण गर्ने उपायहरू पनि छन्।
भगवान गौतम बुद्धका प्रेरक विचारहरु:-
शान्ति बाहिर होइन आफैं भित्र खोज्नु पर्दछ, हिंसा गर्नु हुँदैन,आफ्नै तर्क र विवेकले स्वीकार नगर्दासम्म अरुले भनेका वा कतै पढेका आधारमा विश्वास गरिहाल्न हुँदैन,आफूलाई सच्चा प्रेम गर्ने मान्छेले अरुलाई दुख र पीडा दिन सक्दैन,जो व्यक्ति वास्तैमा धार्मिक हुन्छ उसले अरुको लागि त्याग गर्न सक्छ ।
यस्तै जे सोचिन्छ त्यस्तै बन्ने हुँदा सधैं सकारात्मक सोच्नु पर्दछ,जीवनमा रिस गर्नु हुँदैन,रिस पालेर राख्नु भनेको आफुले विष पियर अरु मर्ने आशा गर्नु जस्तै हो।हजारौै युद्ध जित्नु भन्दा अगाडि आफ्नो मनलाई जित्नु पर्दछ,हजारौं खोक्रा शब्द धन्दा सधैं शान्ति दिने एक शब्द काफी हुन्छ,सुख र खुशी एक अर्कामा बाँड्न पर्छ,खुशी बाँडनाले ख़ुशी कम हुँदैन,घृणा होइन प्रेम गर्नु पर्छ,विगत र भविश्यको चिन्ता नगरि वर्तमानमा ध्यान केन्द्रित गर्नु पर्दछ,फूलको मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ आदि बुद्धका प्रेरक विचारहरु हुन्।
यसैगरि उनका थप प्रेरक विचारहरुमा सूर्य,चन्द्रमा र सत्यलाई लामो समय सम्म लुकाउन सकिदैन,आफ्नो शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो,हामी त्यहि बन्छौ जो हामी सोच्छौ,क्रोधलाई प्रेमले,पापलाई सदाचारले,लोभलाई दानले र झूठोलाई सत्यले जित्न सकिन्छ,स्वयंलाई वशमा गरेको मान्छेलाई संसारको कुनै पनि शक्तिले वसमा राख्न र पराजय गर्न सक्दैन,झूठो बोल्नु पाप हो,त्यहि काम गर्नु ठिक हुन्छ जुन गरेपछि पछुताउनु नपरोस र फलखाँदा प्रसन्न चित्त हुन पाइयोस्,सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास मनमा राम्रो विचार गर्न मनमा राम्रो विचार राख्नु पर्छ आदि रहेका छन् ।
त्यसैगरि अत्त दीपो भवः अर्थात आफ्नो दियो स्वयं बन,जे प्राप्त भएको छ त्यस्को धेरै मूल्याकन नगर बरु निरत्तर कर्म गर,पवित्र शब्दहरु पढ़ या बोल,त्यसलाई व्यवहारमा उतार,तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो,थोपा थोपाले नै घैंटो भरिन्छ,एक निष्ठाहीन र खराब साथीको संगत भन्दा एक्लै हिड्न उत्तम हुन्छ,द्वेषलाई प्रेमले नै समाप्त गर्न सकिन्छ,धेरैलाई प्रेम गर्ने व्यक्ति धेरै नै दुःखले घेरिएको हुन्छ,प्रेम नगर्नेलाई संकट नै हुँदैन आदि पनि बुद्धका प्रेरक विचारहरु हुन्।
सत्यको बाटो अप्ठयारो हुने हुँदा मानिसले त्यसको पुरा बाटो तय नै गर्दैन,कि शुरुवात नै गर्दैन,इच्छा कहिल्यै अन्त्य हुँदैन शंका गर्ने बानी खराब हो,शंकाले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ,खासमा जो गुनासोयुक्त विचारले मुक्त हुन्छन्,उनको जीवनमा शान्ति मिल्छ,बुद्धरत्न,धर्मरत्न र संगरत्न आवश्यक छ लगायतका गौतम बुद्धका यीनै प्रेरक विचारहरुको मनन गरेर व्यवहारमा उतार्नाले तपाईंको जीवनमा प्रभाव पर्न सक्छ र जीवन धन्य बन्न मद्दन पुग्छ।
बुद्ध जयन्तीको धेरै धेरै शुभकामना !
