
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा(२)अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
ओलीले एमालेका साथै नेपाली कांग्रेस लगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६ को उपधारा(२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
यता ओलीको प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निम्तो पठाइसकेको छ।
कार्यालयले सोमबार बिहान ११ बजे शपथ समारोह राखिएकाले सबै सांसदहरूलाई बिहान १०ः३० भित्र शीतल निवास प्रवेश गरिसक्ने गरी आइपुग्न संघीय संसदका महासचिवलाई पत्रमार्फत आग्रह गरेको जनाएको छ।
