
५ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ आयोजना गरिएको छ ।

नगरपालिकाले घोडेजात्रा पर्वको अवसर पारेर बुधबार एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिसँगको सहकार्यमा तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाएको हो ।

महोत्सवको उद्घाटन गर्दै तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म,संस्कृति,परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले स्थानीय तहले पहिलो पटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताए ।

‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको पनि उनले स्पष्ट पारे ।

महोत्सवमा घोडाहरुको मार्च पास, हर्स जम्प र विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।स्थानीय भाषा, संस्कृति,परम्पराका साथै विभिन्न मूल्य मान्यता आदिको पहिचान र जगेर्ना गर्दै समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना गरिएको सो महोत्सवले तारकेश्वर क्षेत्रमा नयाँ सांस्कृतिक ऊर्जा थपेको पालिकाले जनाएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख,उपप्रमुख,राजनीतिक दलका प्रतिनिधि लगायत नगरवासीहरुको महोत्सवमा उल्लेख्य सहभागिता रहेको थियो ।
