नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

२७ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा ६ का अध्यक्ष देवेन्द्रराज गिरी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा। चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान,शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिने जनाइएको छ ।

उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसर विस्तार हुने बताइएको छ ।

सनमुन विश्वविद्यालयले नेपालमा ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।