ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिइने

३१ असार ,काठमाडौं । सरकारले ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिने भएको छ।

नगद जरिवानाको साटो कुनै व्यक्तिले सरकारी श्रमदान गरेर तिर्न पाउने व्यवस्था समेत कानूनमा गर्न लागिएको हो।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उत्तर दिंदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक जरिवानामा नयाँ व्यवस्था गर्न लागेको जानकारी दिए। विकासमन्त्री लम्सालले  धेरै जरिवाना नभए पनि पहिलेभन्दा बढी हुने स्पष्ट पारे।

‘सञ्चार माध्यममा आएजस्तो ५० हजार जरिवानाको कुरा सत्य होइन। हामीले जरिवानालाई वैज्ञानिक बनाउन लागेका हौँ’, मन्त्री लम्लासले भने, ‘गल्तीको प्रकृति, तिव्रता र पुनरावृत्तिका आधारमा ५०० देखि ५० हजार रुपैयाँसम्मको सीमा निर्धारण गरिनेछ।’

ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिबाट श्रमदान गराउने बुँदा थप्ने उनले बताए। सडक दुर्घटनाको न्यूनीकरणका लागि पनि नियम कडा बनाउनुको विकल्प नभएको मन्त्री लम्सालको स्पष्टोक्ति थियो ।