
रुपन्देही । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष,पुरातत्व विभागले उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिएका छन् ।
यही जेठ १६ गतेदेखि शुरु गरिएको उत्खननका क्रममा सो इनार भेटिएको हो ।लुम्बिनी विकास कोषले गत वर्ष पनि उत्खनन गर्दा इँटाको माथिल्लो भाग फेला पारेको थियो ।“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भने ।
इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष र खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।पुरातत्व विभागका अनुसार तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको हुनाले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरेर थप काम गर्ने तयारी छ ।
यस क्षेत्रमा देवदह नगरपालिकाको रु १० लाख बजेटबाट पहिलोपटक महिनासम्म उत्खननको काम गर्ने योजना अनुसार काम भइरहेको जनाइएको छ।उक्त उत्खनन कार्यका लागि लुम्बिनी विकास कोषको पुरातत्व महाशाखाले नेतृत्व गरेको छ।
