नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

मलेखु ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माण कार्य हुने भएकाले बन्द गर्न लागिएको हो ।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डले मंगलबार एक सूचना जारी गरी नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला,डाङडुङ खोला,खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउने जनाएको छ ।राति  सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर –छहरे –टोखा सडक प्रयोग गर्न सकिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डले जनाएको छ ।