
२३ असोज, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।
हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
मधेस लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती,गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी,बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
कोश प्रदेशको तराई भूभागका केही स्थानमा, मधेस प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मौसमविदहरुका अनुसार शनिबारसम्मै वर्षाको क्रम जारी रहनेछ । त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जानेछ ।
हिजो र अस्तीको तुलनामा आज बढी वर्षाको सम्भावना छ ।आइतबारबाट आकाश खुल्नेछ ।
दशैंको घटस्थापनाको दिन अर्थात् असोज २५ गतेदेखि अहिलेको तुलनामा मौसममा केही सुधार देखिने सम्भावना रहेको पनि मौसमविदहरुको भनाइ छ ।
