
काठमाडौं ।दक्षिण एसियाली महिलाहरुको सम्मेलन आज वैशाख ३०गते आइतवारदेखि शुरु हुँदै छ।सम्मेलन आज,भोली र पर्सि जेठ १ मा गरि तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुने आयोजक–ललितपुरस्थित अन्तर्राष्ट्रिय विकास संस्था,भारतको नयाँदिल्लीस्थित दक्षिण एसियाली महिलाहरुको सञ्जाल र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले जानकारी दिएका छन्।
‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण’लाई मुख्य विषयवस्तु बनाएर सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ ।
सम्मेलनले ‘दक्षिण एसियाभरका महिलाहरुले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठेरोको विषयवस्तुलाई लक्षित गरिएका विषयबस्तुमा जोड दिने र त्यसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकासका विषयमा छलफल हुने छन् ।
विषेश गरि लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई प्राथमिकतामा राखेर ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयमा पनि सम्मेलनमा छलफल गरिने बताइएको छ ।
सम्मेलनमा दक्षिण एसियाका कैयौं अगुवा महिलाहरुको सहभागिता हुने र
यसले ग्रामीण महिलाहरुको प्रत्यक्ष सहभागितामा प्रविधियुक्त ग्रामीण पर्यटनको विकास र प्रवर्द्धन गर्दै महिला सशक्तीकरणको आयाम तय गर्ने विश्वास लिइएको छ ।
सँगसँगै सीप र आयआर्जनमा महिलाको नेतृत्व बढाउँन सहयोग गर्नुका साथै दिगो विकास लक्ष्य हासिल गर्नमा समेत मद्दत पुर्याउने विश्वास आयोजककले लिएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको यस सम्मेलनले दक्षिण एसियाली महिलाहरुद्वारा सञ्चालित लघु, साना र मध्यमस्तरका व्यवसायहरुको प्रवद्र्धन गर्ने,लैङ्गिक डिजिटल ग्यापलाई कम गर्न पुलको काम गर्ने र महिलाहरुको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्य लिएको जनाइएको छ ।
दक्षिण एसियाका देशहरूमा कोभिड १९ महामारीका कारण उत्पन्न आर्थिक क्षतिलाई सम्बोधन गर्ने प्रयासमा सम्मेलनले टेवा पुर्याउने ,समाजको समग्र समृद्धि र आर्थिक विकासका लागि सबै महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाई पूर्ति गर्दै महिलामा, आर्थिक सशक्तीकरणको आवश्यकतालाई थप उजागर गर्ने विश्वास लिइएको छ ।
