
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये ‘विमानस्थलमा विमान दुर्घटना’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिने भएका कारण सो समयमा विमानस्थल बन्द गर्न लागिएको सुचनामा उल्लेख छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा हुन लागेको सो अभ्यास सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका र जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराई दुर्घटना न्यूनिकरणका गराउने मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यो विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार अभ्यास भएको जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘यो विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको ब्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका बासिन्दाहरूलाई सुसूचित गराउन चाहन्छौँ।’
अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ, दमकल,सुरक्षाकर्मी,एम्बुलेन्स तथा अन्य गतिविधि बढीमात्रामा भएको देख्न सकिने पनि सूचनामा उल्लेख छ।
