
सीता पौडेल(अर्चना)
काठमाडौं ।नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनिहलमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) शुरु भएको छ ।

भोली शनिबारसम्म सञ्चालन हुने एक्सपोको शुक्रबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले उदघाटन गरेका छन्। समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा सञ्चालन भइरहेको सो एक्सपोको उद्घाटन गर्दै मन्त्री तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको बताए ।

उनले भने, “ सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्।सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ ।”

साथै उनले यस प्रकारको कार्यक्रमले सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताएका छन् । बजेटमा पर्यटनका कतिपय विषयहरु छुटेको स्वीकार गर्दै मन्त्री तामाङले आगामी बजेटमा समावेश गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको भन्दै यसमा लागेको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जानकारी दिएका छन् ।

मन्त्री तामाङले बजेट पास हुनु अगाडि नै यस प्रकारको समस्या समाधानम गर्ने दाबी समेत गरेका छन् ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल÷टुररट्रेकिङ÷माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स) सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
उद्घाटन पश्चात मन्त्री तामाङले सो एक्सपोका विभिन्न स्टलहरुको अवलोकन गरेर जानकारी लिएका थिए ।


