
५ फागुन,काठमाडौं ।महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ।
महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहेनुसार संस्थान र कोषले पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ गरेको हो ।
बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो ।
नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५ हजार ५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए ।संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए ।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने,बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ ।
आज नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गरेका लोटा,चम्मर,घण्टी,राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्रीसमेत प्रदान गरिएको पनि उनले जानकारी दिए ।
