नेपालको नाट्टा र बंगलादेशको टी.ओ.ए.बि.बीच सम्झौता पत्रमा हस्ताक्षर

सीता पौडेल(अर्चना)

काठमाडौ ।नेपालको ‘नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) र बंगलादेशको ‘टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश’(टि.ओ.ए.बि.)बीच दुबै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

‘शिखरदेखि समुन्द्रसम्म’ भन्ने उद्घोषका साथ गरिएको सम्झौतामा नेपाल र बंगलादेशको समृद्धि र विभिन्न किसिमका पर्यटन प्रस्तावलाई स्वीकार गर्न यी दुई संस्थाबीचको प्रतिवद्धतालाई उल्लेख गरिएको छ ।यसर्थ दुई देशबीचको समन्वय र सहकार्यबाट विश्वभरका पर्यटकलाई आकर्षित गर्न मद्धत पुग्ने आशा राखिएको छ।

बिहिबार काठमाडौंको ठमेल स्थित होटल मनाङको एक सभाहलमा गरिएको सम्झौतामा नाट्टाका तर्फबाट अध्यक्ष कुमारमणी थपलिया,उपाध्यक्ष जिस्वाँ तुलाधर र महासचिव युविका भण्डारी तथा टी.ओ.ए.बिका तर्फबाट अध्यक्ष रफेउज्मान र एमडी एवं निर्देशक(व्यापार तथा मेला) डा. लस्लिम अमीनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार अब दुबै संस्थाहरु मिलेर संयुक्त रुपमा परिचयात्मक भ्रमणहरु,सम्मेलनहरु र सेमिनारहरु आयोजना गर्ने,मार्केटिङ अभियानमा सहकार्य गर्ने,बौद्धका पुरातात्विक स्थलहरुको प्रवद्र्धन गर्ने,पर्यटन सम्बन्धि विभिन्न जानकारीको आदान प्रदान गर्ने,तालिम,वर्कसप लगायत क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यका लागि प्रतिबद्धता जाहेर गरिएको छ ।

 

 उक्त हस्ताक्षर कार्यक्रममा बंगलादेशबाट आएका थप ९ जना टुर अपरेटर्सहरु,नाट्टाका अन्य प्रतिनिधिहरु,विभिन्न व्यवसायिक संघसंगठनका प्रतिनिधिहरु र विभिन्न आमसञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।