सीता पौडेल(अर्चना)
काठमाडौं। आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
नेपाल सरकारले पनि २६ जेठ २०७३ मा सो प्रस्ताव स्वीकृत गरेर २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेको थियो।यस दिवसको अवसरमा आज शुक्रबार नेपालमा विभिन्न कार्यक्रमका साथ योगाध्यास गरेर यो दिवस मनाइँदै छ।
सरकारले ‘आफ्नो लागि र समाजको लागि योग’भन्ने नाराका साथ यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ।समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी,कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी भएका छन्।मूल कार्यक्रमअघि पेप्सीकोला,गठ्ठाघर,लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी निकालिएको छ।
यस अवसरमा आज बिहानैदेखि टुँडिखेलमा पनि योगाभ्यासहरू भइरहेका छन्।अन्य विभिन्न संघसंस्थाहरुले पनि योगाभ्यासहरु गरेर दिवस मनाइरहेका छन्।
स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष गरि योग,ध्यान र प्रणायाम तथा आध्यात्ममा विश्वास राख्ने व्यक्तिहरुले आफ्नो जीवनमा योगाभ्यास गर्ने गरेको पाइन्छ।आध्यात्ममा विश्वास गर्ने र योगलाई आफ्नो जीवनचर्यामा समावेश गर्ने व्यक्तिहरु आध्यात्मिक जीवनले सही बाटो देखाउँने,सुखी र आनन्दित भएर जीउन सिकाउने मान्यता राख्छन् ।
भौतिकताले सुविधा दिन्छ तर सुख र आनन्द,खुशी दिँदैन।भौतिकवादी मानिस भित्र अहंकार र रिस लुकेको हुन्छ। तर आध्यात्मीक व्यक्तिले अहंकार र रिसलाई एकैछिनमा हटाएर सकारात्मक सोचको विकास गर्छ भन्ने मान्यतामा अडिग रहन पनि योगाभ्यासले मद्दत गर्दछ ।जबसम्म मान्छेले आध्यात्म बुझ्दैन तबसम्म मान्छे सुखी हुँदैन। जीवनका सुविधालाई सुख ठान्न हुँदैन।
सुखी हुन हृदयमा सन्तोष,प्रेम,करुणा चाहिन्छ।भौतिकताबाट मात्रै मानिस आजसम्म सुखी भएको देखिएको छैन ।यसले भन्छ –सम्पूर्ण प्राणी आत्मा हुन्,सम्पूर्ण आत्मा परमात्मा हुन् र त्यसमा कुनै विभेद हुँदैन।अर्थ,धर्म,काम र मोक्ष शरीरलाई चाहिने भौतिक कुराहरू भएपनि जब यी कुराले शरीर परिपूर्ण हुन्छ,मानिसले यि कुराहरु सबै प्राप्त गर्छ फेरि त्यसपछि मानिसको मनमा अन्ततोगत्व आनन्द र शान्तिको आशा पलाउँछ।
मानिसले जे –जे गरेपनि अन्तमा जीवनमा खुशी,आनन्द र शान्ति चाहन्छ।यो आध्यात्म र योगाभ्यासको माध्यमबाट मात्रै सम्भव छ।तसर्थ हरेक व्यक्तिले जीवनमा योग,ध्यान र प्रणायामलाई अंगाल्नु अहिलेको युगको आवश्यक्ता हो।
१० औं विश्व योग दिवसको यहाँहरुलाई सगरमाथाप्रेस अनलाइन न्युज पोर्टलको तर्फबाट धेरै धेरै शुभकामना !
